नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको “शुभ साइत” असोज १९ गते बुधवार, ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ।तोकिएको समयलाई टीका र आशीर्वाद लिने “सबैभन्दा उचित समय” मानिए पनि त्यस दिन वा रातिसम्म जुनसुकै बेला टीका लगाउन सकिने बताउँछन् समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी ।

“ज्योतिष विज्ञहरूसँगको छलफलपछि उक्त समय तय गरिएको हो। तर त्यही क्षणमा मात्र टीका लगाइनु पर्छ भन्ने होइन। साइत बाहेकको समयमा लगाउनुले पनि फरक पर्दैन,” उनले प्रस्ट्याए।
साइत किन जुराइन्छ?

साइत जुराउनुलाई “उखुको लाँक्रामा पनि सबैभन्दा गुलियो भाग खोज्नु”सँग तुलना गर्छन् ज्योतिषी अधिकारी। भन्छन्,”विजया दशमी आफैमा शुभ दिन हो। त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो।”

साइत जुराउँदा के हेरिन्छ?
सामान्यतया दशैँको तिथि अनुसार मनाइने बताउँछन् अर्का ज्योतिषी सुरेशचन्द्र रिजाल। तिथि, बार र नक्षत्रले अर्थ राख्ने भए पनि सबैभन्दा बढी महत्त्व लग्नको हुने उनी बताउँछन्।
लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउने रिजालले बताए। लग्न निर्धारण गर्दा सूर्यको प्रमुख भूमिका रहन्छ।
त्यस्तै उपयुक्त साइत जुराउँदा नौ वटा ग्रहहरू कति बलवान् स्थानमा छन् भन्ने कुरा समेत मापन गरिने ज्योतिषी रिजालले बताए। उनले भने,”त्यसलाई नवमांश भनिन्छ। यो ग्रहहरूको बल नाप्ने निकै छोटो पद्धति हो।”

र, साइत तय गर्दा हेरिने अर्को महत्त्वपूर्ण आधार वारलाई मानिने ज्योतिषी श्रीकृष्ण अधिकारीले बताए।
“यी तीन कुराहरूलाई विशेष ध्यान दिइन्छ र ज्योतिष विज्ञहरूसँग छलफल गरेपछि साइत निर्धारण हुन्छ,” उनले जानकारी दिए।

साइतमै टीका लगाउनु पर्छ?
दशमी तिथिमा सूर्योदय भएपछि त्यस तिथिको घडी पला कम भए पनि दिनभर वा रातको समयमा समेत दान वा अन्य शुभ कर्म गर्न सकिने ज्योतिषीहरू बताउँछन्।
“कहिलेकाहीँ साइत आधा घडी वा १२ मिनेटको मात्र हुन्छ। त्यति समयमा त पक्कै टीका लगाउन भ्याइँदैन। त्यसैले ज्योतिषको आधारग्रन्थको आधारमा साइत निर्धारण गरेका हौँ। त्यही बेला टीका लगाउनु पर्छ भन्ने छैन,” ज्योतिषी अधिकारीले बताए।
बिबीसी नेपालीबाट


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार