काठमाडौं । फरवार्ड अन्जन विष्टको ह्याट्रिकमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए ।

१८औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । विमल घर्ती मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत जाली चुमाए । २७औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अन्जनले सहज फिनिस गरे ।

३८औं मिनेटमा अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपाल खेलमा ३–० ले अघि बढ्यो । विशाल राईको फ्रिकिकलाई अन्जनले हेडमार्फत गोल गर्न सफल भए । बंगलादेशविरुद्ध ह्याट्रिक पूरा गरेपछि अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् ।

अन्जन सर्वाधिक गोल गर्ने खेलाडी सुचीमा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् । अनिल गुरुङ र भरत खवाससले पनि समान १० गोल गरेका छन् । राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा रहेको छ । उनीहरुले संयुक्त रुपमा १३ गोल गरेका छन् ।

यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए ।

५५औं मिनेटमा सजजत हुसेनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । रकिव हुसेनको क्रस सेसेहाङ आङ्देम्वेलाई डिफ्लेक्ट हुँदा कप्तान तथा गोलरक्षक किरण झुक्किन पुग्दा अनमार्क रहेका साजजाद हुसेनले हेडरमार्फत जाली चुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल विजयी हुन सफल भयो । यो जितसँगै नेपाल पछिल्लो पाँच खेलमा बंगलादेशसँग अपराजित रहन सफल भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार