एजेन्सी । भारतको गुजरातस्थित मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो । स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ । यद्यपि कति जनाले टिकट काटेका थिए भनेर तथ्यांक केलाउने काम पनि भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

मोरबी पुल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो ।

मोरबी शहरको सरकारी वेबसाइटमा यो पुललाई ‘इन्जिनियरिङको चमत्कार’ लेखिएको छ । १.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार