काठमाडौं । नेपाली महिला टोली साफ यू१५ च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो ।

महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले यसअघि उपाधि जित्न सकेको थिएन ।

ढाकास्थित बीएसएसएसएमके स्टेडियममा शुक्रबार भएको खेलको १४औं मिनेटमा सुशिला केसीको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो । ५४औं मिनेटमा रुमा अख्तेरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । खेलको अन्तिम मिनेट बंगलादेशको पेनाल्टीलाई नेपाली गोलरक्षक सुजाता तामाङले रोक्दै नेपालको सम्भावित हारलाई टारिन् ।

डबल राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिपका यसअघिका तीनै खेलमा जित निकालेको नेपालले अन्तिम खेलमा भने बराबरी खेल्यो । सहभागी ३ टोलीमा १० अंकका साथ नेपाल च्याम्पियन बनेको हो । नेपालले भुटानलाई पहिलो खेलमा ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो । बंगवादेशले ७ अंक जोड्यो । भुटान गोल र अंकविहीन रह्यो ।

सुजाता उत्कृष्ट गोलरक्षक
नेपाली टोलीकी गोलरक्षक सुजाता तामाङ महिला साफ यू१५ च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिएकी छिन् । शुक्रबार नेपाललाई अपराजित रहेर च्याम्पियन बनाउन सुजाताले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । राउन्ड रोविन लिगको अन्तिम खेलको अन्तिम समयमा घरेलु टोली बंगलादेशले पाएको पेनाल्टीलाई सुजाताले रोक्दै नेपाललाई हारबाट जोगाउँदै च्याम्पियन बनाउन सफल भएकी थिइन् ।

उनले यस महिला साफ च्याम्पियनसिपमा सबै चार खेलमा पहिलो रोजाईमा खेल्दा सुरुवाती तीन खेलमा क्लिन सिट राखिन् । फाइनल सरहको अन्तिम खेलमा उनले टोलीको कप्तानी सम्हालेकी थिइन् । बंगलादेशकी सौरभी एकान्ड प्रिती च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकताए भइन् । उनले च्याम्पियनसिपमा कुल ९ गोल गरेकी थिइन् । फेयर प्लेको ट्रफी उपविजेता बंगलादेशले हात पारेको छ ।

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार