काठमाडौं । युवा ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईसँग तीन ओडिआई सिरिजको उपाधि जितेको छ ।

नेपालले अन्तिम तथा तेस्रो ओडिआईमा युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जित्न सफल भएको हो । नेपाल पहिलो खेलमा ८६ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

शुक्रबार १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आसिफ शेख ८८ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल ६४ रनमा आउट भए । आसिफ र ज्ञानेन्द्र दुवैको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय २२ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरे । यो नेपालबाट ओडिआई क्रिकेटमा भएको दोस्रो ठूलो साझेदारी हो । गतवर्ष पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागी देव खनाल र दीपेन्द्रसिंह ऐरीले १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो विकेटका लागि नेपालबाट भएको यो उच्च साझेदारी हो । यी दुई ब्याटरले आफ्नो कीर्तिमान नै तोडेका हुन् । दोस्रो विकेटका लागि गतवर्ष ओमानविरुद्ध ज्ञानेन्द्र र आसिफले ९५ रनको साझेदारी गरेका थिए । कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । अर्जुन साउ ९ रनमा आउट भए । युएईका आयन खान र हजरत बिलालले समान एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । युएई एक समय ३१.१ ओभरमा ९३.९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै सानदार पूनरागमन गराए । आयन अफ्जल खान ५४ रनमा अविजित रहे । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने ।

बिलाल २० रनमा अविजित रहे । एलिशान शराफुले ३३ रन बनाए । ओपनर मोहम्मद वासिमलाई ११ रनमा आउट भए । वृत्य अरविन्दलाई शून्यमा बोल्ड भए । कप्तान सिपी रिजवानलाई ४ रनमा आउट भए । रोहन मुस्तफा २४ रनमा आउट भए । बासिल हामीदलाई ८ रनमा क्याच गराए । अहमद राजालाई शून्यमा क्याच भए ।

दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।

नेपालले अब आइसिसी विश्वकप लिग–२ को लागि नामिबिया भ्रमण गर्नेछ । नामिबिया, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल २ डिसेम्बरमा नामिबियासँग खेल्नेछ । ४ डिसेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । ७ डिसेम्बरमा नामिबिया र ८ डिसेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार