एजेन्सी । कप्तान तथा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा पोर्चुगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा घानाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । दोस्रो हाफको अन्त्यतिर पाँच गोल सम्भव हुँदा पोर्चुगलले रोमाञ्चक जित हात पारेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियोनो रोनाल्डो, जोआओ फेलिक्स र राफेएल लिआओले गोल गरे । घानाका लागि कप्तान एन्ड्रे आयु र ओस्मान बुकारीले गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा पाँच गोल निस्कियो ।

६२औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई डिबक्सभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै पोर्चुगललाई १–० गोलको अग्रता दिलाए । यो गोलसँगै रोनाल्डोले विश्व कीर्तिमान पनि बनाए ।

लगातार पाँचौं विश्वकपमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन् । यसअघि रोनाल्डोले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । घानाविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकपमा गोल संख्या आठ पुर्याएका छन् ।

घानाविरुद्धको गोलसँगै ३७ वर्ष २९२ दिनका रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो भेट्रान खेलाडी बनेका छन् । यसअघि क्यामरुनका रोज मिल्लाले ४२ वर्ष ३९ दिनको उमेर रहँदा सन् १९९४ मा गोल गरेका थिए । उनी युरोपेली राष्ट्रबाट विश्वकपमा गोल गर्ने भेट्रान खेलाडी बनेका छन् । उनले स्वीडेनका गुनार ग्रीनले ३७ वर्ष २३६ दिनको उमेरमा १९५८ को विश्वकपमा गरेको गोलको कीर्तिमान तोडेका हुन् ।

७३औँ मिनेटमा घानाका कप्तान एन्ड्रे आयुले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । ७८औँ मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए । ८०औँ मिनेटमा राफेएलले गोल गर्दै पोर्चुगललाई ३–१ को अग्रता दिलाए । उनले मैदान छिरेको तेस्रो मिनेटमै गोल गर्न सफल भएका हुन् ।

८९औँ मिनेटमा ओस्मान बुकारीले गोल गर्दै घानालाई ३–२ गोलको स्थितिमा ल्याएपनि जित दिलाउन भने सकेनन् । खेलकाे अन्त्यतिर पाेर्चुगलका गाेलरक्षक डिएगाे काेष्टाले गम्भीर गल्ती गरेपनि रुवेन डियासले इनाकी विलियम्सबाट बल खाेस्दै पाेर्चुगलकाे बराबरी टारे ।  यो जितसँगै पोर्चुगलले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार