एजेन्सी । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको छ । साविक विजेता फ्रान्सलाई टाइब्रेकारमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकपको च्याम्पियन बनेको हो । मेस्सीको कप्तानीमा अर्जेन्टिना पहिलोपटक विश्वकप च्याम्पियन बनेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा अर्जेन्टिनाले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोल गर्न सफल रहे । किंग्सले कोमानले प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । त्यसपछि पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ओरेलियन चुआमेनीको प्रहार बाहिरिदा लियान्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई ३–१ ले अघि बढाए । त्यसपछि रान्दल कोलो मुआनीले गोल गर्दा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाए ।

त्यसअघि लुसेल आइकोनिक रंगशालामा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्जल डि मारियाले एक गोल गरे । फ्रान्सका केलियन एमबाप्पेले ह्याट्रिक पुरा गरेपनि टोलीलाई च्याम्पियन बनाउन पर्याप्त बनेन । खेलको २३औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र ओसमाने डेम्बेलेले एन्जल डि मारियालाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान तथा गोलरक्षकविरुद्ध सहजै गोल गर्न सफल भए ।

यस गोलसँगै मेस्सी विश्वकपको नकआउट चरणको हरेक खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघिको कुनै पनि विश्वकपको नकआउट चरणमा कुनै पनि खेलाडीले गोल गर्न सकेको थिएन । ३६औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकमा एलेक्सिस म्याक एलिस्टरले अफसाइड बिट ट्याप गर्दै दिएको पासमा डि मारिया चुकेनन् । ८०औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो । एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए । किङ्ले कोमानले मैदानको मध्यभागबाट मेस्सीबाट बल खोस्दै दिएको पासलाई कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले वान टचमा हाफ भलीमार्फत सुन्दर गोल गरे ।

यस्तै एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने खेलाडी कान्छा खेलाडी बनेका छन् । यसअघि ब्राजिलका रोनाल्डोले सन् २००२ मा जर्मनीविरुद्धको फाइनलमा दुई गोल गरेका थिए । यस्तै उनी विश्वकपमा १० गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन् । उनले यसअघि जर्मनीमा गर्ड मुलरले २४ वर्षको उमेरमा राखेको कीर्तिमानलाई तोडेका हुन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

१ सय ९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाए । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे । मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरेपनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।

११७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेललाई ३–३ गोलको बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिदा एमबाप्पे चुकेनन् । र विश्वकपमा ह्याट्रिक पूरा गरे । यससँगै एमबाप्पे फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि इंग्ल्यान्डका जियोफ्रे चार्लेस ह्रस्टले पश्चिम जर्मनीमाथि अतिरिक्त समयमा ४–२ को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए ।

अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भए । अर्जेन्टिनाले छैटौं पटक फाइनल खेल्दा तेस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । तेस्रोपटक च्याम्पियन बन्न अर्जेन्टिना ३६ वर्ष लाग्यो । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकप जितेको थियो । त्यसबेला डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । ३६ वर्षपछि अर्जेन्टिनालाई च्याम्पियन बनाउन कप्तान मेस्सीले उच्च प्रदर्शन गरे ।

सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो । फ्रान्सलाई हराएसँगै अर्जेन्टिनाले सन् २०१० मा स्पेनको शैलीमा च्याम्पियन बनेको छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिनाले पनि पहिलो खेलमा हार भोगेपनि त्यसपछिको सबै खेल जितेर च्याम्पियन बनेको हो ।

कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोरेको अर्जेन्टिनाले त्यसपछि मेक्सिकोलाई २–०, पोल्याण्डलाई २–०, अष्ट्रेलियालाई २–१, नेदरल्यान्ड्सविरुद्ध २–२ को बराबरीपछि अतिरिक्त समयमा ४–३ को जित र सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनलमा पुगेको थियो ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार