काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेश मन्त्रीले बताएका छन् ।

युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ ।

आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ । नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार