दाङ । दाङको तुलसीपुरमा सासु ससुराले नै आफ्नो बुहारीको बिहे गरिदिएका छन् । बिहीबार आमन्त्रितहरूका माझ यिनै ३० वर्षीय आरती श्रेष्ठको बिहे चन्दनध्वज केसीसँग विधिपूर्वक शिव र विनाले राजीखुसीले गरिदिएका हुन्।

‘हाम्रो छोरा भने पनि बुहारी, छोरी जे भने पनि उनी (आरती) नै हुन् ।’ शिवले भने, ‘एकातिर मलाई धेरै खुसी लागेको छ, अर्कातिर यति प्यारी छोरीलाई बिदाइ गर्दा आफूलाई सम्हाल्न गाह्रो पनि भएको छ।’ बिहे भएर आउँदा आरतीले स्नातक तह पूरा गरेकी थिइन्। घरमा सबैले नर्सिंङ पढ्न हौसला दिए। उनले तुलसीपुरबाटै ‘स्टाफ नर्स’ पढार्इ पूरा गरिन्।

बिहे गरेर आएपछि परिवारकै हौसलाले आफू नर्स भएको उनले बताइन्। उनले यो बिहेपछि पनि आफूहरू तुलसीपुरमै बुबाआमा (सासूससुरा) कै साथमा बस्ने निधो गरेकी छन्। ‘जन्मदिने बुबाआमा अरू नै भएपनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकतामा हुनुहुन्छ ।’ उनी भन्छिन्, ‘बिहेपछि पनि हामी तुलसीपुरमा बुबाआमाको घरमै आएर बस्छौँ ।’ आरतीले दोस्रो श्रीमान चन्दनध्वज केसीसँग यसबारे सम्झौता भएको बताइन्।

उनी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–५ का स्थायी बासिन्दा हुन्। उनका अनुसार फेसबुकमार्फत आरतीसँग चिनजान भएको थियो। यस्तो चिनजानपछि काठमाडौंमा भेट भएको थियो। ससुरा शिव बिरामी हुँदा उपचारका लागि उनलाई लिएर आरती काठमाडौं गएकी थिइन्। त्यही क्रममा अस्पतालमा चन्दनध्वजसँग भेट भएको थियो।

चन्दनध्वजले उपचारको क्रममा धेरै मद्दत गरे। उनको व्यवहारबाट आरती प्रभावित भइन्। उनीहरूको हृदयमा अदृयरूपमा आपसी मायाका मुनाहरू अंकुराउन थाले। एक दिन चन्दनध्वजले प्रेम प्रस्ताव राखे। आरतीले आफ्नो सबै वास्तविक अवस्थाबारे बताइन्। कुरा सुनेर चन्दनध्वज गम्भीर भए।

उक्त क्षण सम्झँदै उनले भने ‘आरतीले कुनै कुरा नलुकाई आफ्नो विगत बताइन्। मलाई उनीप्रति असाध्यै माया र भरोसा भयो। मैले नै बिहेको प्रस्ताव गरेँ। आरती बिहे गर्न तयार थिइनन् तर चन्दनध्वजले हार मानेन्। उनी आरतीको घरमै गए, शिव र विनालाई भटेर आफ्नो प्रस्ताव सुनाए।

शिवलाई कुरा उचित लाग्यो। उनले आरतीलाई सम्झाई–बुझाई गरेर बिहेका लागि राजी गराए। ‘आरतीले त अर्को बिहे गर्न मानेकी थिइनन्। तपाईंहरूलाई छोडेर जान्नँ भन्थिन्,’ शिवले भने, ‘उनको उमेर कलिलै छ। हामीले नै सम्झाई–बुझाई गरेर दोस्रो बिहे गर्न मनाएका हौँ।’

आरतीले आफू सदाको लागि तुलसीपुरमा बुबाआमा (सासूससुरा) सँगै बस्ने वचन दिएकी छन्। आज त म बिहे गरेर श्रीमानको घरमा जानैपर्छ,’ उनले भनिन्, ‘म दुई चार दिनमै तुलसीपुर फर्किए बुबाआमासँगै बस्नेछु।’ नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ बाट आरतीका बुबाआमा छोरीको बिहेमा आएका थिए।

केही वर्षअघि उपमहानगरपालिका–६ निवासी शिव र विनाका छोरासँग आरतीको बिहे भयो। उनका लागि बिहे गरेर आएको घर नै एउटा संसार बन्यो। उनले सासू–ससुराको रूपमा बुबाआमा नै पाइन्। सानो परिवारमा उनी हाँसीखुसी थिइन्। समय सधैँ उही रहेन। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो। अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो। परिवारमा अन्धकार छायो। समयको खेल न हो, सहनै पथ्र्यो। शिव–विना र आरतीले पनि सहे। समय बित्दै जाँदा घाउमा खाटो बस्दै गयो।

छोराको मृत्युपछि शिव–विनाको सहारा बनिन् बुहारी आरती। पतिको मृत्युपछि पनि उनले घर छाडिनन्, सासूससुरासँगै बसिन्। सासूससुराले उनलाई छोरीजस्तै माने, पढाए। गरिखाने बाटो देखाए।

विधवा बुहारीलाई हेलाहोचो गर्ने समाजमा शिव–विना फरक देखिए। सासूससुराको व्यवहारले आरतीलाई पनि पतिको घरमा बस्न असजिलो भएन। उनको मनमा सासूससुराप्रति माया र सम्मान बढ्दै गयो। उनले पनि सासूसुरालाई आमाबुबा सरह मानिन्।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार