काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा विकेटकिपर आसिफ शेखले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् ।

आसिफले सन् २०२२ को टी–२० विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण इंग्ल्यान्डलाई दुई स्टारलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । विश्व चर्चित क्रिकेट क्लब एमसिसीले सिएमजे स्प्रिरिट क्रिकेट अवार्ड २०१३ देखि प्रदान गर्दै आएको छ । पूर्व एमसिसी अध्यक्ष तथा बिबिसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिस्टोफर मार्टिन जेन्किन्सको सम्झनामा उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

एमसिसी र बिबिसीले इतिहासमा पहिलोपटक मनोनयन सार्वजनिक गर्दै आसिफलाई उक्त अवार्ड प्रदान गरेका हुन् । गतवर्ष अल अमरेत क्रिकेट मैदानमा आयरल्यान्डविरुद्ध तीव्र गतिका बलर कमलसिंह ऐरीको १९औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिने क्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसिंह ऐरीसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएर बल लिनेक्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडिएका थिए । क्रिजको मध्ये भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा रहँदा आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । तर आसिफले रन आउट गरेनन् ।

आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए । आइसिसी आफैंले खुलेर प्रशंसा गरेको थियो । आइसिसीले पनि आसिफलाई स्पिरिट अफ द क्रिकेट इयर २०२२ अवार्ड प्रदान गरिसकेको छ । टी–२० विश्वकपमा इंग्ल्यान्डका मार्क वुडको बाउन्सर बलले टप एज लाग्दा क्याचको लागि ब्याटर म्याथ्यु वेडले हातले छेकेका थिए ।

यदि कप्तान जस बटलरले उक्त खेलमा अपिल गरेको भए म्याथ्यु वेड आउट हुने थिए । तर बटलरले अपिल नगर्ने निर्णय लिएका थिए । कप्तान बेन स्टोक्सले टेस्ट सिरिजमा पाकिस्तानसँग खेलमा म्याच फि बाढी पिडित र युवा लेग स्पिनर रेहान अहमदलाई ट्रफी प्रस्तुतिकरणमा देखाएको भन्दै स्टोक्सको नाम पनि मनोनयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार