काठमाडौं । लाओसमाथि २–१ को सानदार पूनरागमन जित निकाल्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालको पूनरागमन जितमा आयुष घलान र मनिष डाँगीले गोल गरे । लाओसका लागि फोन्साक सिसाभाथको गोल सान्त्वना बन्यो ।

खेलको १७अ‍ौं मिनेटमा लाअ‍ोसले अग्रता लिन सफल भयो । उत्कृष्ट पासिङ मुभमा निर्मित आक्रमणलाई फोन्साक सिसाभाथले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि फोन्साकले सहजै गोल गरे ।

२२अ‍ौं मिनेटमा नेपालको बराबरी गर्ने प्रयासमा गोलरक्षक सेसाभाथ बाधक बने । नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रयास गोलरक्षकले बचाए । २४अ‍ौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्र सुन्दर फिनिस गरेपछि नेपाल बराबर गर्न सफल भयो । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

५५औं मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विंगबाट दिएको क्रसलाई दिपक र आयुषले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिन सकेनन् । ६१औं मिनेटमा आयुषले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । नविनको क्रसमा गोलरक्षक फ्रन्ट पोस्टमा बिट भएपछि आयुषले खाली पोस्टमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

६९औं मिनेटमा निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । ७४औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि असिस्टेन्ट रेफ्रीले अफसाइडका लागि झन्डा उठाए ।

८७औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् । मनिष फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २ सय ५० अमेरिकी डलर प्राप्त गरे ।

विंगर आयुष घलान प्रधानमन्त्री थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अवार्डसँगै उनले ५ सय अमेरिकी डलर प्राप्त गरे । आयुष भुटानविरुद्ध लिग चरणको दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए । तीनै खेलमा सुरुवात गरेका आयुषले नेपाली समर्थकमाझ जित हासिल गर्दा र गोल गर्न पाउँदा गौरव महसुस गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार