काठमाडौं । आइसिसी विश्वकप छनोटमा नेपाल चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो ।

आरिफ शेखले सर्वाधिक ६३ रन बनाए । गुलशन झाले ४२ रन बनाए । करण केसीले २८ रन बनाए । ओपनर कुशल भुर्तेल पाँच रनमा बोल्ड आउट भए । भीम सार्की क्याच आउट हुन पुगे ।

कप्तान रोहित पौडेल ३० रन बनाए । कुशल मल्ल २ रनमा क्याच आउट भए । दीपेन्द्र सिंह ऐरीले २३ तथा आसिफ शेखले २८ रन बटुले । जेसन होल्डरले १० ओभरमा ३ विकेट लिए । अकिल हुसैन, अल्जारी जोशेफ र किमो पलले समान २ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा बिहीबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनको कप्तानी इनिङ खेले । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाए ।

व्यक्तिगत ३ र ५३ रनमा जीवनदान पाएका पुरनले त्यसको फाइदा उठाउँदै शतकीय इनिङ्स खेले । त्यो नै नेपालको हारको एक कारण बन्यो । एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काए । यी दुई खेलाडीको साझेदारी दीपेन्द्रले तोडेका थिए । दीपेन्द्रले ४४ औं ओभरको अन्तिम बलमा पुरनलाई कट एन्ड बोल्ड गरे ।

ओपनर कायल मेयर्सलाई १ र जोनसन चाल्र्स डक आउट भएका थिए । ब्रेन्डन किंग ३२ रनमा आउट भए । रोभम्यान पावेलले २९ रन जोड्दा किमो पल १ रनमा आउट भए । जेसन होल्डर १६ रनमा नट आउट रहे ।

ललित नारायण राजवंशीले ३ विकेट लिए । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झाले समान १ विकेट लिए । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई ६ विकेटले हराएको थियो ।

अमेरिका समूह ए बाट लगातार तीन हारको साथ बाहिरिएको छ । नेपाल सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्सलाई हराउनु पर्ने हुन्छ । नेपालले हराए मात्रै हुँदैन नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार