काठमाडौं । आयोजक भारतसँग २–० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले समूह ए को दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएसँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै साफको समूह चरणबाट बाहिरिएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले गोल गरे । पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गर्दै अवसर सिर्जना गरेपनि अग्रता लिन सकेन ।

भारत यस जितसँगै समूह चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । नेपालको साफ च्याम्पियनसिपको यात्रा भने यसपटक समूह चरणमा नै टुंगिएको छ । नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ को हार बेहोरेको थियो ।

१७औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । कर्नरमा आएको रिबाउन्डलाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा गुरप्रित बाधक बने । त्यसको केहीबेरमै मनिष डाँगीको पास केहि फितलो हुँदा विमल घर्ती मगर ६ यार्ड बक्सभित्र अवसरको सदुपयोग गर्नबाट बन्चित भए ।

चोटका कारण अन्जन विष्टलाई गुमाउन पुगेपछि नेपालको प्रदर्शन पनि खस्कियो ।६१ औं मिनेटमा भारतले अग्रता लियो । कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय करिअरको ९१ औं गोल गर्दै भारतलाई अघि बढाए । ७०औं मिनेटमा भारतले अग्रता दोब्बर पा¥यो ।

कप्तान सुनिलको पहिलो प्रहार नेपाली कप्तान किरण चेम्जोङले बचाएपनि उक्त बचाउ क्रसबारमा लाग्दै पेनाल्टी क्षेत्रभित्र फर्कंदा महेशले सहजै गोलमा परिणत गरे । यस नतिजासँगै भारत सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।

आज सम्पन्न समूह ए को खेलमा कुवेतले पाकिस्तानलाई ४–० ले पराजित गर्यो । यसअघि पहिलो दिन नेपाल कुवेतसँग ३–१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४-० ले नै हराएको थियो । यस नतिजासँगै नेपाल र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुईबीच मंगलबार लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार