काठमाडाैँ । जापानको नागानो प्रान्तमा एकै घरभित्र तीन जनाको शव फेला परेको छ। प्रहरीका अनुसार मंगलबार बिहान नागानो प्रान्तको अची गाउँस्थित एक घरमा ४० वर्षीया महिला, एक किशोर र एक किशोरी मृत अवस्थामा भेटिएका हुन्।

नागानो प्रिफेक्चरल प्रहरीले दिएको जानकारीअनुसार सोही घरमा बस्ने एक किशोरले बिहान करिब ३ बजे प्रहरी चौकीमा पुगेर आफ्नी आमाले आफूलाई कुटपिट गरेको जानकारी दिएका थिए।

त्यसपछि प्रहरी टोली घर पुगेको थियो तर भित्रबाट कुनै प्रतिक्रिया नआएपछि फर्किएको थियो। करिब पाँच घण्टापछि पुनः पुगेको प्रहरी टोलीले जबर्जस्ती घरभित्र प्रवेश गर्दा बिहान करिब ८:२० बजे तीन जनाको शव फेला पारेको हो।

उक्त घरमा आमा–बुवा र तीन सन्तान गरी पाँच जनाको परिवार बस्दै आएको बताइएको छ। घटनाका बेला परिवारका पिता घरमा उपस्थित थिएनन्। प्रहरीमा उजुरी दिन पुगेका किशोरको टाउकोमा सामान्य चोट लागेको छ भने उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा दुई किशोरको हत्या भएको र त्यसपछि आत्महत्या भएको आशंकामा घटनालाई हत्या–आत्महत्याको रूपमा अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार