टोकियो,जापान। जापानमा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्पनीहरूलाई लक्षित गर्दै ‘भ्वाइस फिसिङ’ (Voice Phishing) मार्फत ठूलो परिमाणमा रकम चोरी भएको घटना सार्वजनिक भएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार गत महिनादेखि सुरु भएको यस ठगीमा देशभरका ३० भन्दा बढी कम्पनीबाट करिब १३ अर्ब येन अवैध रूपमा अन्य खातामा पठाइएको छ।

अनुसन्धानका अनुसार ठगी गर्ने समूहले सुरुमा बैंकको प्रतिनिधि भएको भन्दै स्वचालित आवाज (अटोमेटेड भ्वाइस) मार्फत कम्पनीका कर्मचारीलाई फोन गर्छ। त्यसपछि “कम्प्युटरको प्रणाली अद्यावधिक (अपडेट) गर्नुपर्छ” जस्ता झुटा बहाना बनाएर सम्पर्क इमेल ठेगाना लिन्छ।

पछि सुरक्षा प्रणाली सुदृढ गर्ने नाममा कर्मचारीलाई कम्प्युटर टाढाबाट नियन्त्रण (Remote Access) गर्न सकिने सफ्टवेयर इन्स्टल गर्न लगाइन्छ। त्यसपछि नक्कली वेबसाइटको लिंक पठाएर बैंक खाताको विवरण र लगइन जानकारी प्रविष्ट गराइन्छ र सोही कम्प्युटरलाई टाढाबाट नियन्त्रण गर्दै कम्पनीको खाताबाट रकम चोरी गरिन्छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार केही कम्पनीले १ अर्ब येनभन्दा बढी रकमसमेत गुमाएका छन्। अपराधीहरूले व्यक्तिगत खाताभन्दा धेरै रकम स्थानान्तरण गर्न सकिने कर्पोरेट (कम्पनी) बैंक खातालाई विशेष रूपमा निशाना बनाएको आशंका गरिएको छ।

यस घटनाको अनुसन्धान गरिरहेको जापानको महानगरीय प्रहरी विभागले (मेट्रोपोलिटन पुलिस) यसलाई ‘भ्वाइस फिसिङ’ को नयाँ स्वरूप मानेर अनुसन्धान अघि बढाइरहेको छ। यस्तै प्रकारका ठगीका घटना गत वर्षको नोभेम्बरदेखि क्षेत्रीय बैंक प्रयोग गर्ने साना तथा मझौला कम्पनीहरूमा पनि देखिन थालेका थिए।

प्रहरी र बैंकहरूले यस्ता ठगीबाट बच्न निम्न सावधानी अपनाउन आग्रह गरेका छन्:

* बैंकबाट फोन आएको दाबी भएमा आफूले कारोबार गर्ने शाखा वा आधिकारिक ग्राहक सेवा नम्बरमा आफैं फोन गरेर पुष्टि गर्ने।
* खाता नम्बर, पासवर्ड वा अन्य गोप्य जानकारी कुनै पनि फोन वा इमेलमार्फत आएको लिंकमा प्रविष्ट नगर्ने।
* बैंकको आधिकारिक वेबसाइट वा आधिकारिक मोबाइल एप मार्फत मात्र लगइन गरी आवश्यक जानकारी प्रविष्ट गर्ने।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार