२७ कात्तिक, काठमाडौं । भीआईपीको सवारी हुँदा ट्राफिक जामको सास्ती व्यहोर्दै आएका काठमाडौंबासीले आज पनि त्यस्तै समस्या भोग्नुपर्ने भएको छ । किनकी राष्ट्रपति विद्यादेवी भण्डारी आज युएईको भ्रमणमा जाँदैछिन् र त्यसका लागि सवारी अवधिभर ट्राफिक प्रहरीले शितल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सवारी रुटमा अरु गाडी चल्न दिनेछैन ।

त्यसैले तपाईं जामबाट जोगिन चाहानुहुन्छ भने आज राष्ट्रपति भण्डारीको सवारी हुने समय र रुटको बारेमा पूर्वजानकारी लिँदा राम्रो हुन्छ ।

ट्राफिक प्रहरीका अनुसार अपरान्ह साढे चार बजे शितल निवासबाट राष्ट्रपति भण्डारी बाहिरिने छिन् । शितल निवासबाट भाटभटेनी, ल्होत्से चोक, ज्ञानेश्वर, तिलगंगा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्ने रुट निर्धारण गरिएको छ । त्यसैले कुनै काम विशेषले कतै जानुपर्ने छ भने सवारी हुने बाटो प्रयाेग नगर्दा उत्तम हुनेछ । साथै काममा निस्किनुपर्दा पर्याप्त समय छुट्याउँदा राम्रो हुनेछ ।

भीआईपीको सवारी नसकुन्जेल ट्राफिक प्रहरीसँगै सुरक्षाकर्मीहरुले सडकको दायाँबायाँ गाडी रोक्ने, बाटो काट्न नदिने र पैदल यात्रीहरुलाई समेत हिँडडुलमा कडाई गर्ने गर्दछन् । जसका कारण घण्टौं रोकिनुपर्दा हैरान मात्र हुँदैन र समयमै पुग्नुपर्ने ठाउँमा पुग्न ढिलाइ समेत हुनेगर्दछ । सवारी सकिएपछि धेरै गाडीको चाप एकैपटक सडकमा पर्दा घण्टौं जाम हुँदा पनि काठमाडौंबासीले सास्ती बेहोर्नुपर्दछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार