२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रामणबाट कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् । साथै उनले इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको टिप्पणी पनि गरेका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जसमा ८० अमेरिकी सैनिक मारिएको दाबी इरानले गरेको थियो ।तर, ट्रम्पले इरानले गरेको दाबीको खण्डन गर्दै घटनामा कुनै पनि मानवीय क्षति नभएको बताएका छन् । ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानवीय क्षति नभएको दाबी गरेका हुन् ।

ट्रम्पले अमेरिकी सेनालाई आवास दिइरहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर इरान तल परेको टिप्पणीसमेत गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्यान गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’

गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए । घटनापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । यहीबीच मंगलबार राति इरानले इराकस्थित सैन्य बेस क्याम्पमा आक्रमण गरेको हो । इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पूर्वघोषणा अनुरूप आक्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न पुगेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार