मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान तथा रुससँगको उनको साँठगाँठको प्रमाण आफूसँग रहेको दाबी गर्ने बेलारुसकी मोडल रुसको हिरासतमा परेकी छन् ।

नात्स्या रेबका भनिने अनसतासिया वाशूकेबिचलाई थाइल्याण्डबाट मस्को लग्नासाथ बिमानस्थलबाटै गिरफ्तार गरिएको हो । उनलाई थाइल्याण्डमा यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने आरोप लागेको थियो । उनले यौन व्यवसायमा कसरी लाग्ने भनेर शिक्षा दिने गरेका कारण उनलाई धेरैले यौन गुरुको नामसमेत दिएका थिए ।
नात्स्याको वकिलले इन्स्ट्राग्राममा एक भिडियो पोष्ट गरेर उनको गिरफ्तारीबारे जानकारी गराएका हुन् । भिडियोमा नात्स्या जस्तै देखिने एक महिलालाई चार जनाले ह्विल चेयरमा हालेर लग्दै गरेको देखाइएको छ । वकिल दिमित्री जेत्सारिंस्कीको सो भिडियो रुसमा भ्रष्टाचार विरोधी अभियान चलाइरहेका एलेक्सी नावालिनीले रिट्वीट गर्नुका साथै रुसी सञ्चार माध्यमले पनि यसबारेमा समाचार दिएका छन् ।

जेत्सारिंस्कीको भनाई अनुसार २७ वर्षीया रेबका कनेक्टीङ फ्लाइट मार्फत मिन्स्क जान चाहेको भएपनि उनलाई ट्रान्जिटमा रहेकै बेलामा नियन्त्रणमा लिएर प्रहरीले लगेको हो । उनले रुसको यो कारवाहीलाई एउटा अन्तर्रा्ष्ट्रिय स्क्यान्डल भएको बताएका छन् । रुसको गृह विभागको तर्फबाट जारी गरिएको एक वक्तव्यमा भने रेबका तथा अन्य तीन जनालाई बेश्याबृत्ती फैलाइएको आरोपमा गिरफतार गरिएको जनाइएको छ ।

रुसमा यो अपराधका लागि ६ वर्ष सम्मको जेल सजाय हुन सक्ने व्यवस्था रहेको छ । हिरासतमा लिइएका चार जना मध्येमा अलेक्ज्याण्डर किरीलोब पनि रहेका छन्, बेलारुसमा रहने उनी स्वघोषित सेक्स गुरु हुन् ।

उनी थाइल्याण्डमा रेबकाका साथमा थिए । थाइल्याण्डको एक अदालतले उनले अवैध यौन ट्रेनिङ कोर्र्श चलाएको आरोपमा १८ महिनाको काराबास सजाय सुनाएको थियो । सजाय सुनाउनुभन्दा पहिला उनीहरु ९ महिना थाइल्याण्डको जेलमा परेका थिए । यसपछि उनीहरुलाई थाइल्याण्डले प्रत्यार्पण गरेको हो ।
इन्स्ट्राग्राममा उनका करिब सवा लाख फलोअर्सहरु छन् । उनी थाइल्याण्डमा सेक्स र त्यस सम्बन्धी जोडिएका विषयमा कक्षा पनि लिन्थिन् । उनी गएको वर्ष ट्रम्पको बारेमा सनसनीपूर्ण दाबी गरेर चर्चामा आएकी थिइन् । सो समयमा उनले त्यसै विषयलाई लिएर गिरफ्तार पनि गर्न सकिने बताएकी थिइन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार