{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1621044684510","source":"other","origin":"unknown"}

खंड्गप्रसाद ओली अंकल नमस्कार ! सुरुमा प्रधानमन्त्री भनेर संबोधन गरुँ भने कतै सोर्सफोर्स लगाउनुपर्ने गन्धले बसि टिक्न दिँदैन मलाई। किनकि मलाइ आज भन्नै पर्ने केहि कुरा छन् । तपाई मुलुकको प्रधानमन्त्रीमा पुन नियुक्त हुनुभएको छ यद्यपी, जनता बाँचेपछि बधाई दिनेछु ।

किनकि मेरो मातृभुमि, मेरो घर देश नेपालको अविभाबक तपाई पनि सोकमै हुनुहनन्छ भन्ने ठानेको छु । अहिले यो सबै लेख्दै गर्दा पनि मेरा आफन्त ३ जना र चिनजानका १२ जनाले कोरोनाकै कारण ज्यान गुमाई सक्नु भएको छ । दिनै पिच्छे कोरोना सर्ने र मर्नेको समाचार सुनि नसक्नु छ ।

राजनितिको रंगमन्चमा रमाउनेहरुलाई किन लाग्दैन जनताले दु:ख पाईरहेका छन् भनेर ? तपाईका अनुसार बेड खालि छन् अक्सिजनको अभाब छैन । छैन भने हामिले किन आफन्त गुमाउनु पर्यो त ? तपाईसॅंग जवाफ छ ? हुन त हजुर रामायणका अनुसार जवाफ दिनुहुन्छ ।त्यसले न मेरा आफन्त फर्किएलान न म जस्ता पिडितको चित्त बुझ्ने जवाफ आउला ।

प्रधान मन्त्रि ज्यु , “मृत्युदर घट्दै छ संक्रमित घटिरहेका छन् अस्पतालका बेड खालि छन, अक्सिजन अभाव छैन ” तपाईको योअभिब्यक्तिमा मेरो आपत्ति छ । तपाईको आखामा हामि जनता आँकडामा सिमित भएपनि मेरो लागि मेरो परिवार शतप्रतिसत हो ।तपाईको लागि एक जना कोरोनाका करण मरेछ भन्ने हुन्छ होला तर त्यो एक जना त्यो परिवारको लागि १००% हो । सब थोक हो । त्यो मृतकबाट आश्रित त्यो परिवार अब कसको भरमा बाच्ने । परदेश पस्नु घर परिवारसॅंग भेट्न नपाउनु घरदेश फर्कन मन लाग्दा पनि फर्कन नसक्नु परदेशिका पिडा तपाई के बुझ्नु हुन्थ्यो र ! तैपनि सुनाउछु ।

प्रधानमन्त्री ज्यु , म मेरि आमा र बाबाका चिल्ला गालामा आंसुको मसिले खुसिको तमसुक लेखेर प्रदेशएको नेपाली हुँ । त्यो खुसीको ऋण तिर्न मलाई अझै कति बर्ष लाग्छ थाहा छैन । तर तपाईलाई एउटा अनुरोध के छ भने म र मजस्तै परदेशिएका नेपालीका घर परिवार कोरोनाका कारण छटपटाई रहेका छन । जतिबेला पनि जे सुकै हुन सक्छ । विभिन्न उतार चढाब पछि फेरि पनि प्रधानमन्त्री बन्नु भएको छ, तपाईले चाहेमा आटेमा अझै पनि गर्न सकिने धेरै प्रयास बाँकी नै छन् । देशको सन्पुर्ण शक्ति कोरोना बिरुद्ध लड्नमा लगाउनुहोस् ।दातृराष्ट्रबाट पाएका सहयोग सामग्री लिन तुरुन्तै जहाज पठाउनुहोस् । चिनले २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरेको थियो(यो लेख लेख्दा को मितिसम्म )किन जम्मा ६ सय मात्र भित्रियो त ? दिन मै ४/५ वटा फ्लाईट पठाउन तपाईको आदेश खै ? त्यसै गरि चिनमा रहेको नेपाली दूतावास को पहलमा २० लाख डोज खोपको फाइल स्वास्थ मन्त्रालयमा आएर रोकिएको ७ दिन भो रे । किन यस्तो बेलामा पनि रोकेर राखेका होलान् । तपाईको एक्सन खै ? राम्रो काममा खुरापाति गर्नेलाई ठाँउको ठाँउ हटाएर जनताको ज्यान जोगाउने यो संबेदनशिल बिषयमा गम्भीर बन्नुहुन परदेश देखि आग्रह गर्दछु । बरु विभिन्न देशका राजदुताबास तथा कुटनैतिक क्षेत्रबाट पहल गरेर भएपनि स्वास्थ्य सामाग्री नेपाल भित्राउन कत्तिपनि ढिला नगर्नुस् ।

प्रधानमन्त्री ज्यु , मेरो आसुले लेखेको खुसिको तमसुक यतिबेला चाउरी परिसकेका छन् । म चाहेर पनि ति बिरामी आफन्त भेट्न सक्दिन किनकि नेपाल यति बेला हरेक देशको प्रतिबन्ध सुचिमा परिसकेको छ । तपाईको अबको सम्पूर्ण उपाय लगाएर भएपनि हाम्रा बाबा आमाको अकालमा ज्यान गुम्नबाट बचाईदिनुहोस् । चाउरिएका गाला मुसार्दै ,खुसिलाई घरमै छोडेर खै कुन खुसि खोज्न परदेशिएको थिएँ कुन्नि ? त्यो यात्राका कुरा बाबा आमालाई सुनाउनु छ । अगेनाको छेउमा बसेर आमाले पकाएको खाना खादै बाबा नचिनेका आफ्ना सन्तानसॅंग परिचय गर्नु छ । आफ्नै रगतलाई परिचय दिनु छ । आफन्तलाई र सबै नेपालीलाई परदेशमा हुँदै छर/छिमेक र आफन्त गुमाउँदाका अनुभव सुनाउदै आफन्तजनसंगै रमाउन सिकाउनु छ ।

अन्त्यमा प्रधानमन्त्री ज्यु,
कोरोना रोग लाग्नु HIV एड्स लाग्नु हुदै होईन भन्ने बारे तपाई आफैले संसदबाटै बोल्दिनुस् । गांउघरमा कोरोना लागेका बिरामिलाई हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार त्यस्तै ठ्याक्कै दुरुस्तै सुनिन्छ । कोरोना लागेर पनि सामाजिक तिरस्कार सहनुपर्ने डरले जानकारी नगराउँदा समाजमा यो रोग भुसको आगो झै झनझन फैलिरहेको छ । धार्मिक परम्परा अनुसार दाहसंकार गर्न नपाउने डरले सामाजिक अभियन्ताबाटै ठुला गल्ति भैरहेका उदाहरण आँखा अगाडि देखिएका छन । क्षति धेरै भैसक्यो अव त्यो भन्दा ठुलो क्षति हुन नदिन तपाईको सम्पूर्ण क्षमता प्रयोग गर्नुस । प्रधानमन्त्री ज्यु, म परदेशबाट फर्कने समय सम्म मेरा बा आमा बचाईदिनुस् । प्रधानमन्त्री ज्यु मेरि प्यारि श्रिमती, छोरा छोरी र आफन्त बचाईदिनुस् । दुख र शोकको यो संकट टरेपछि तपाईलाई बधाई दिनेछु ।

उपाचार गर्दा,गर्दै मृत्युभए चित्त बुझाईन्थ्यो,तर उपचारै नपाउँदा कसरी मन बुझाउनु ?

(नारायण पोखरेल धुर्कोट गाउपालिका गुल्मी
हाल टोकियो)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार