काठमाडौं ।चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले २–१ को हार बेहोरेको छ । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाालामा आइतबार भएको  प्रतिस्पर्धात्मक खेलको  ६२औं मिनेटमा चिङलेनसना सिंह कोन्सामको क्रसलाई कप्तान सुनिल क्षेत्रीले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा अनमार्क रहेका फरुख हाजी कासम चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाए । उनी दोस्रो हाफको शुरुमै मदान प्रवेश गरेका थिए ।

८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । सुजल श्रेष्ठको फ्रिकिकलाई गोलरक्षक अमरिन्दर सिंहले पञ्च गरेपछि डिफेन्डरबाट क्लियर भएको बललाई काउन्टर अट्याकमा मैदानको मध्यभागबाट अनिरुद्ध सिंहले गौतम श्रेष्ठलाई बिट गर्दै दिएको पासलाई सुनिलले एक्लै अघि बढाउँदै गोलरक्षक किरणलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

८७औं मिनेटमा तेज तामाङले गोल गर्दै खेललाइ २–१ को अवस्थामा ल्याए । उनले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । सुजल श्रेष्ठले क्रस गरेको बललाई कर्नर फ्ल्याग नजिकैबाट गौतम श्रेष्ठले दिएको ब्याक पासलाई सन्तोष तामाङ र विशाल राईले छोडेको बललाई तेजले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार उत्कृष्ट रुपमा गोलमा परिणत हुदा भारतीय डिफेन्डर र गोलरक्षकले रोक्ने कुनै अवसर नै पाएन ।

साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपुर्ण खेल खेलेको हो । मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।

बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार