काठमाडौं । फरवार्ड विमल घर्तीमगरको एकमात्र गोलमा नेपालले मरिससँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा १–० को जित निकालेको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी प्रतिद्धन्द्धी मरिससलाई पाखा लगाएको हो ।

नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । उनले ५५औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । यससँगै विमलको गोलसंख्या ९ पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थिउो । खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे ।

३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे । ४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो ।

४६औं मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा नेपालको खतरा टरेको थियो । ५५औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । ७६औं मिनेटमा जगजित श्रेष्ठको फ्रिकिकमा अन्जन विष्टको हेडर क्रसबारमा लागेर फर्कदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार