पोखरा : पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु सभापतिमा पटकपटक उम्मेदवार बनेका देवराज चालिसले पराजय मात्रै व्यहोरे। तिनै चालिसे त्रिभुवन विश्वविद्यालयमा भने ०४९ सालमा स्ववियु सभापतिमा निर्वाचित भए। अर्का विद्यार्थी रवीन्द्र अधिकारी चालिसेले प्रतिस्पर्धा गरिसकेको कार्यकालपछि पीएनको स्ववियु सभापति निर्वाचित भए। फेरि त्रिभुवन विश्वविद्यालयमा पनि चालिसेपछि अधिकारीले ०५१ सालमा स्ववियु सभापतिको चुनाव जिते।
कास्की क्षेत्र २ मा अहिले उनै चालिसे कांग्रेस र अधिकारी एमालेबाट उम्मेदवार छन्। अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएर सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउनेदेखि गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलन गरेर अधिकारीले ख्याति कमाए। त्यसयता अधिकारी राष्ट्रिय राजनीतिमा आस लाग्दा युवा नेताका रूपमा चिनिन्छन्।
अधिकारीसँग प्रतिस्पर्धामा उत्रिएका चालिसे पनि कमजोर नेता होइनन्। प्रजातान्त्रिक आन्दोलनमा दुई वर्ष तीन महिना जेलजीवन बिताएका चालिसेले महाधिवेशन प्रतिनिधि, पार्टीको केन्द्रीय प्रशिक्षकलगायत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। अधिकारीले जस्तो देशभरिका सर्वसाधारणले समेत नोटिस गर्ने गरी पब्लिक इमेज बनाउन नसके पनि देशभरिकै कांग्रेस कार्यकर्ताले चिन्ने गरी बौद्धिक नेताको छवि उनले बनाएका छन्। खुला बजार अर्थतन्त्र र समाजवादी प्रजातान्त्रिक व्यवस्थाको वकालत गर्न उनी खप्पिस मानिन्छन्।
माओवादीको दबदबा भएको ०६४ सालको संविधानसभा र ०७० मा पनि अधिकारीले कास्की २ बाट निर्वाचन जितिसकेका हुन्। यसपालि उनी ह्याट्रिक गर्ने दाउमा छन् भने चालिसेले जीवनमै पहिलोपटक आमनिर्वाचनको स्वाद लिँदै नतिजा पोल्टामा पार्ने कसरतमा छन्। चालिसे कांग्रेसका अघिल्ला दुवै चुनावका भन्दा बलिया उम्मेदवार हुन् भने माओवादीसमेतको साथ पाएर वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्न पाउनु अधिकारीको बलियो पक्ष बनेको छ।
‘संविधान निर्माण र राष्ट्रिय गौरवका आयोजना अघि बढाउन मैले खेलेको नेतृत्वदायी भूमिका देखेका जनताले मलाई साथ दिनेछन्।’
– रवीन्द्र अधिकारी, एमाले उम्मेदवार
‘प्रजातान्त्रिक समाजवाद रुचाउने मतदाताले हिजो एमालेलाई भोट दिएका थिए, अब उनीहरूको रोजाइमा कांग्रेस पर्छ।’
– देवराज चालिसे, कांग्रेस उम्मेदवार
उनीहरूको निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा वडा परेको छ। गत स्थानीय निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्ने हो भने अधिकारीको पल्ला भारी देखिन्छ। किनभने स्थानीय तहको परिणामअनुसार वाम गठबन्धनको पक्षमा सात हजारभन्दा बढी मत छ। थपिएकासहित गरी यो क्षेत्रमा अहिले ७० हजार ६ सय ५१ मतदाता छन्।
चालिसे संसारभरिकै प्रजातान्त्रिक व्यवस्थामा एक जनाले दुई पटकभन्दा मौका पाउन नहुने भन्दै अधिकारीलाई सम्मान र आफूलाई मतदान गर्न अपिल गरिरहेका छन्। अमेरिकाको उदाहरण दिँदै उनी भन्छन्, ‘क्षमता हुनेले दुई कार्यकालमा देखाइसक्ने हो। हार्ने पनि त्यस्तै हो। दुईपटक प्रयास गर्दा नजित्नेले अर्कोपटक पनि जित्दैन।’
अधिकारी भने अरूलाई मौका दिने नाममा सधैं गोल गरिरहने क्षमतावान र योग्य स्ट्राइकरलाई हटाएर अर्को खेलाडीलाई जिम्मेवारी दिने चलन कहीँ नभएको भन्दै आफ्नो प्रतिरक्षा गर्छन्। उनले ‘म पोखराको विकासका लागि आसपासको पनि विकास हुनुपर्छ भनेर लागिरहेको छु, कास्की मात्रै होइन, छिमेकी जिल्ला र देशभरिकै पूर्वाधार विकासमा खटिएको छु।’
एमाले नेता अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल, पोखराको खानेपानी सुधार, व्यवस्थित बस्तीका लागि मापदण्ड बनाउने पहलकदमी लिएको, जिल्लाका सबै विद्यालय भवन पक्की बनाउने अभियानमा ९० प्रतिशत सफलता प्राप्त गरेकोलगायत आफूले गरेका ५० भन्दा बढी विकास निर्माणको सूची मतदातामाझ राखिरहेका छन्। ‘संविधान निर्माण र राष्ट्रिय गौरवका आयोजना अघि बढाउन मैले खेलेको नेतृत्वदायी भूमिका देखेका जनताको साथ मलाई मिल्नेछ’, अधिकारीले विश्वास व्यक्त गरे।
चालिसे भने अधिकारीबाट पोखराको हितमा खास उल्लेख्य केही नभएको बताउँछन्। नेपालीका लागि विकास र समृद्धि मात्रै नभई स्वतन्त्रतासहितको समृद्धि चाहिएको हुँदा वाम गठबन्धनलाई जिताएर अधिनायकवाद ल्याउन नहुने उनको तर्क छ। माओवादी र एमाले मिलेर कम्युनिस्ट अधिनायकवादी शासन ल्याउन लागेको बुझेका जनताले आफूलाई भोट दिने विश्वासनमा चालिसे छन्। भन्छन्, ‘प्रजातान्त्रिक समाजवादलाई मान्ने मतदाताले हिजो एमालेलाई भोट दिएका थिए, अब उनीहरूको रोजाइमा कांग्रेस पर्छ।’
उनी प्रतिनिधिसभामा चुनिएर जानु नीति निर्माणका लागि हो भन्नेमा आफू प्रस्ट रहेको बताउँछन्। भन्छन्, ‘संसद् सिमेन्ट बाँड्ने ठाउँ होइन, नीति निर्माण गर्ने ठाउँ हो।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




