काठमाडौं, १२ भदौं । भारतीय सेना चीन–भुटान सीमाको दोक्लामबाट फर्किएपछि त्यहाँ जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले बताएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्, विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’ दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको र उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’ आफ्ना सेना फिर्ता गर्ने कारवाही सुरु भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
विवाद चर्किँदै जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साता चीनको सियामिनमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिनेरनलिनेबारे अन्योल छाएको थियो । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिलाई आधार मान्ने हो भने सोही सम्मेलनमा भाग लिन चीन जाने मोदीको मार्ग सहज भएको अनुमान गर्न सकिन्छ । उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीबीच ‘साइडलाइन’ वार्ता हुने सम्भावना बढेको विश्लेषकहरुको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार