काठमाडौं । पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न बिहिबार दिउँसो ३ः३० बजे नेपाल आइपुगेका हुन् ।

अफ्रिदी यस संस्करणको इपिएल खेल्ने सर्वाधिक ठूला नाम हुन् । अफ्रिदीले इपिएलको शुरुवाती दुई खेल मात्रै खेल्नेछन् । अफ्रिदीले शनिवार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल्ने तालिका छ । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ ।

अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् । ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टी–२० आई र ३ सय २६ टी–२० खेल खेलेका छन् । अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडिआईमा ८ शतक र ३९ अर्धशतक सहित कुल ८ हजार ६४ रन बनाएका छन् ।

ओडिआईमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ७–१२ छ । टी–२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । अफ्रिदीले टी–२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

२०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । अफ्रिदीसँग झन्डै दुई दर्जन टी–२० लिगको अनुभव छ । इपिएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अफ्रिदीको तालिका
बिहीबार नेपाल आइपुगेका शाहिद अफ्रिदी आफ्नो टिम काठमाडौं किङ्स इलेभेनसँगै सोल्टी होटेलमा बस्नेछन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने तालिका छ । भेटमा ईपीएल आयोजकसँगै सहभागी टोलीले पनि राष्ट्रपतिसँग भेट गर्ने तय भएको छ । उनी काठमाडौं किंग्स इलेभेनको पत्रकार सम्मेलनमा पनि उपस्थित हुनेछन् ।

अफ्रिदीले ईपीएलमा काठमाडौंले खेल्ने सुरुवाती दुई खेल मात्र खेल्नेछन् । अफ्रिदीले शनिबारललितपुर प्याट्रियट्सँगको उद्घाटन खेल र सोमबार विराटनगर वारियर्ससँगको खेलमा सहभागिता जनाउनेछन् । करिब ५ दिन काठमाडौमा रहने अफ्रिदीले शिष्टाचार भेटदेखि माउण्टेन फ्लाइटसम्मका कार्यक्रम तय भएको छ ।

अफ्रिदी २६ सेप्टेम्बरमा माउण्टेन फ्लाइटदेखि दराज, शिवम् सिमेन्ट र बजाज पल्सरका विभिन्न कार्यक्रममा उपस्थित हुनेछन् । अफ्रिदी २७ सेप्टेम्बरमा पाकिस्तान फर्कने कार्यक्रम छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार