काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपालले हार बेहोरेको छ । खेलको अन्त्यतिर कप्तान सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल भारतसँग १–० ले पराजित हुन पुगेको हो।

खेलको सुरुवातदेखि नै भारतले नेपातलाई बल पोसेसनमा दवाव राखेपनि गोलको लागि दोस्रो हाफको अन्त्यतिर नै कुर्नुपरेको थियो । भारतले सिर्जना गरेको केहि आक्रमणमा भने डिफेन्स लाइन र कप्तान किरण बाधक बने । खेलको अन्तिम समयतिर डिफेन्स र गोलरक्षकबीच तालमेलको कमीको फाइदा उठाउँदै सुनिलले विजयी गोल गरेका थिए ।

३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो । सुरेश वाङजामको क्रसमा गोलरक्षक किरण समेत बिट भइसकेपछि ६ यार्ड बक्सभित्र खाली पोस्टको अघि अनमार्क रहेका सुनिलले गरेको फितलो प्रहार पोस्टबाट बाहिरिएको थियो ।

५७ औं मिनेटमा किरणले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित नै राखे । यासिरको आउटसाइड फुट क्रसमा मनवीरको हेडरलाई किरणले अन्तिम समयमा विफल पारेका थिए ।७६ औं मिनेटमा भारतले सिर्जना गरेको अर्को अवसरमा किरण बाधक बने । ब्रान्डनको फ्रिकिकमा सुनिलले मिलाएको फ्लिक हेडरलाई सुभाशिश बोसले अन्तिम प्रहार गरेका थिए । सुभाशिशको अन्तिम हेडर सिधै किरणको हातमा टुंगिएको थियो ।

८२ औं मिनेटमा भारतले अग्रता लियो । फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । नेपालले खेलमा पछि परेपछि भने आक्रमणमा जोड दिएको थियो । ८६ औं मिनेटमा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै भारतका गोलरक्षक गुरप्रितले बचाउ गर्दै भारतको खतरा टारे ।

यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४ः४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९ः४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार