काठमाडौं । बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको छ । फाइनल पुग्न बराबरी नै पर्याप्त हुने लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई रोक्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालसँगको बराबरीले बंगलादेश फाइनल पुग्नबाट वञ्चित बनेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलको आठौं मिनेटमा बंगलादेशले सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

१५औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।

३२औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए ।

५२औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुर पुनः नेपालको प्रयासमा बाधक बने । अनन्तको हेडरपछि आयुष घलानको अन्तिम प्रहारलाई उनले उत्कृष्ट बचाउ गरे । ५५औं मिनेटमा नेपालका कप्तान किरण चेम्जोङले वान भर्सेस वानमा उत्कृष्ट बचाउ गर्दै खेलमा नेपालको सम्भावना कायम राखे ।

६४औं मिनेटमा सुमन रेजाको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । लगत्तै अर्कोतर्फ नवयुगको हेडरमा बंगलादेशका गोलरक्षक अनिसुर बाधक बने । ७० औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा रोहितको हेडर पोस्ट नजिकबाट बाहिरिंदा नेपाल बराबरी गर्नबाट चुक्यो ।

खेलको ७९औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुरले रातो कार्ड पाए । पेनाल्टी क्षेत्र बाहिर आएर अन्जनको प्रहारलाई हातले रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । ८२ औं मिनेटमा सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई वैकल्पिक गोलरक्षक अशरफुल रानाले विफल पारे ।

८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अन्जनले गोल गरेका थिए । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार