काठमाडौं, १३ बैशाख । प्रमुख विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुसँग अबदेखि चन्दा नलिने र नमाग्ने निर्णय गरेका छन् ।
शुल्क बृद्धिविरुद्ध आन्दोलन चलाउन गठित संयुक्त विद्यार्थीको कार्यदलले बुधवार यस्तो निर्णय गरेको हो । शुल्क बृद्धि गर्ने विद्यालयहरुमा तालाबन्दी गर्नुअघि बसेको कार्यदलको बैठकले विद्यार्थी संगठनका नाममा चन्दा माग्न वा बार्गेनिङ गर्न कोही आएमा तत्काल प्रहरीलाई बुझाउन विद्यालय सञ्चालकलाई आग्रह गरेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।
कार्यदलमा नेविसंघका उपाध्यक्ष पुष्पकमार शाही, अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङ छन् । कुनै व्यक्ति संगठनका नाममा चन्दा माग्न गएमा प्रहरीलाई बुझाउन आग्रह गरिएको छ । त्यस्ता व्यक्तिलाई सम्बन्धित संगठनले कारवाही गर्नेछन् । उपत्यकाका १५ निर्वाचन क्षेत्रमा १५ टिम बनाएर शुल्क बृद्धि गर्ने कम्तिमा १५० विद्यालयमा तालाबन्दी गर्न लागिएको उनले बताए । शुल्क बृद्धि गर्ने विद्यालयहरुको पहिचान गर्ने क्रम जारी रहेको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार